काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको छ ।
आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा १ हप्ता थप गर्दै साउन २२ गतेसम्म लम्ब्याउने निर्णय गरेको काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न जनस्वास्थ्य मापदण्ड पालना भएको वा नभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्ने तथा भिडभाड रोक्न स्थानीय निकायको सहभागीतामा प्रचार प्रसार र जनचेतनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने पनि बैठकले निर्णय गरेको प्रजिअ पराजुलीले बताए ।
उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र अटेर गर्नेलाई कानुनी दायरामा ल्याइने बताउदै भिडभाडजन्य गतिविधि नरोकिए अझ कडाईका साथ अघि बढ्ने बताए ।
बैठकमा कोरोनाको परीक्षण दायरा बढाउने तथा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा नियमलाई फेरबदल गर्ने विषयमा पनि छलफल भएको प्रजिअ पराजुलीले बताए ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।










