पार्टी एकतामा जोड दिने नेपाल-खनाल पक्षको निर्णय

news-details

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले पार्टी एकतालाई बलियो बनाउनमा लाग्ने प्रस्ताव पारित गरेको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधबार दिउँसो बसेको बैठकले सो प्रस्ताव पारित गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

बैठकले पार्टी एकतालाई खल्बल्याउने गरी संस्थापन पक्षका भातृ संगठनबाट भइरहेको गतिविधिप्रति खेद प्रकट गरेको पनि नेता पन्तले जानकारी दिनुभयो । “यस्ता अस्वस्थ गतिविधिले पार्टी एकता खल्बल्याउनेमा बल पुग्छ भन्ने हाम्रो ठहर रह्यो” उहाँले भन्नुभयो ।

आजको बैठकमा उपाध्यक्ष भीमबहादुर रावल अनुपस्थित रहनुभएको नेता पन्तले बताउनुभयो । अर्को बैठकमा उहाँलाई सहभागी गराउने विषयमा प्रयास गरिने पनि उहाँले बताउनुभयो । पार्टीले सोधेको स्पष्टीकरणका विषयमा छोटो टिप्पणी गर्नुहुँदै नेता पन्तले भन्नुभयो, “स्पष्टीकरण सोधिएको हो भन्ने मिडियाबाट जानकारीमा आएको छ, तर हामीसँग अहिलेसम्म पत्र पुगेको छैन, पत्र पुगेपछि के गर्नेबारेमा निर्णय गरौंला ।”

आफूहरु पार्टी फुटको पक्षमा नरहेको तर पार्टीको विधि अनुसार बैठकहरु अगाडि बढ्नुपर्ने माग आफूहरुको रहेको उहाँले बताउनुभयो । सरकारमा सहभागी हुने नहुनेबारेमा केही छलफल नभएको पनि पन्तले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *