अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रबाट खोप अभियान सुरु गर्नुभयो । उहाँले खोप सहज रुपमा लगाउने प्रबन्ध गर्न निर्देशन दिनुभएको छ ।
खोप लगाउनका लागि काठमाडौंमा विभिन्न ४४ वटा खोपकेन्द्र तोकिएको छ ।
यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउनेछन् ।
यस्तै अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ । यो खोप साउन ६ गतेसम्म जोन्सनको खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।
यसै क्रममा प्रधानमन्त्री देउवाले सोमबार काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमन गरी रहनु भएको छ । उहाँले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो पहिलो प्राथमिकता आम जनतालाई खोप उपलब्ध गराउने रहेको बताउनु भएको थियो ।








