दुई पक्षमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) को एकता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । जसपा पार्टी गठन असंवैधानिक भएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीचको एकता खारेजीको माग गर्दै जसपाकै तत्कालीन उपाध्यक्ष राजकुमार थापाले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेका हुन् ।

सर्वोच्चमा दायर गरेको रिटमा एकता संविधान र कानुनविपरीत भएको भन्दै तत्कालीन राजपाका उपाध्यक्ष थापाले सर्वोच्चमा रिट दायर गरेका हुन्।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकीकरण भएर जसपा बनेको थियो । तर, जसपामा कुनै पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्यो समेत नभएको रिटमा दाबी गरिएको छ।

यसअघि माओवादी छाडेर एमाले गएका सात जना नेताहरूले पनि केही दिनअघि माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले पछिल्लो नेतृत्वलाई नै वैधानिकता दिने भनेको छ ।