पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४१४ सहित देशभर थप २१६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ९७ हजार २५७ जना पुगेको छ ।

६ हजार ५३० जनामा पीसीआर परीक्षण गर्दा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३०३, ललितपुरका ६० र भक्तपुरका ५१ जना गरी ४१४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४३२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख १८ हजार ३६१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९३६२ पुगेको छ ।