पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३८० सहित देशभर थप २२३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ ।

६ हजार ६५७ जनामा पीसीआर परीक्षण गर्दा १४७९ र ४६५६ एन्टिजेन परीक्षणमा ७६० जना गरी २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २६१, ललितपुरका ७४ र भक्तपुरका ४५ जना गरी ३८० कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३१६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख १६ हजार ९२९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९३४० पुगेको छ ।