नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोना खोप भेरोसेल खरिदका लागि सम्झौता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका छन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउनेछ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने पनि प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसका साथै गाभी कोभ्याक्स फ्यासिलिटीबाट पनि छिट्टै खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयले जानकारी दिएको छ ।
यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत) ले दोस्रो मात्रा कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।









