जातीय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रुपा सुनारलगायतलाई कारबाही माग गरेकी छन्।
बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफूले कुनै प्रकारको जातजातिसम्बन्धी विभेद एवम् छुवाछुतको व्यवहार नगरे पनि आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरी राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी हुन्।
उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्। असार १ गते सञ्चारकर्मी रुपा सुनारलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधानलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, आपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रताविपरीत भएकोले कारबाही गरिनुपर्ने बताएकी छन्।
यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाएकी छन्। घरधनी श्रीमान् र सासू भएको भन्दै उहाँले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन्। आफूलाई घरधनी भनी झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ। सञ्चारकर्मीको प्रमाणपत्रको दुरुपयोग गरी निषेधाज्ञाको दिनमा खुलेआम हिँडेको तथा सुनार आफैंले जातको कुरा निकाली आफूलाई विवादमा ल्याएर मानवताविरोधी अपराध गरेको दाबी गरिएको छ।
सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई जातीय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ। तीन दिन हिरासत बसेर प्रधानलाई छुटाइएको थियो। सुनारले पनि आफूमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छन्।








