पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५१४ सहित देशभर थप २४४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ६८ हजार २२१ जना पुगेको छ ।

६ हजार ६४८ जनामा पीसीआर परीक्षण गर्दा १५०९ र ४९९२ एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३५५, ललितपुरका ११२ र भक्तपुरका ४७ जना गरी ५१४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३८५३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ८८ हजार १८७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९०५१ पुगेको छ ।