उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साता लम्ब्याउने निर्णय गरेको हो।

निर्णयअनुसार भोलि मंगलबारदेखि सार्वजनिक यातायातसमेत जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन्। बैठकअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ।  लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन।

यस्तै सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ। खाद्यन्य तथा फलफूल र तरकारीका बजारहरू बिहानैदेखि खुल्ने भएका छन्।

कोरोनाभाइरस सङ्क्रमणमा कमी आएको भन्दै गत सातादेखि नै उपत्यकाभित्र जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन भने दिइएको थियो।

यो सँगै उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुँदै गएको छ। दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।

यसअघि थपिएको निषेधाज्ञा आज सोमबार राति सकिँदै थियो।