आइतबार दिउँसो बसेको उपत्यकाका तीनवटै जिल्लाको प्रमुख जिल्ला अधिकारीबीचको बैठकले जारी निशेधाज्ञा थप गर्ने-नगर्ने तथा थप गर्दा कस्तो मोडालिटी तय गर्ने भन्ने विषयमा छलफल गरेको छ ।

बैठकमा पछिल्लो समयको कोरोना संक्रमणको अवस्थाबारे छलफल भएको र भोलि सोमबार बस्ने बैठकले यसबारे निर्णय गर्ने तय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताए ।

उनका अनुसार निजी सवारीजस्तै जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने तयारीबारे पनि छलफल भएको छ ।

‘सार्वजनिक यातायात खुलाइनै हाल्ने भनेर निर्णय गरिएको छैन, तैपनि खोल्ने सम्भावना र त्यसको तयारीबारे छलफल भने गरिएको छ’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ‘भोलि बस्ने बैठकले संक्रमण दरको अवस्था हेरेर यसबारे विश्लेषण गर्नेछ, यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउदा अवस्था फेरी पूरानै हुने सम्भावना हुदा जोरबिजोर प्रणाली अपनाएर सार्वजनिक यातायात खुलाउन सकिन्छकी भनेर बैठकमा छलफल भएको छ ।’

अहिले निजी सवारीमा जोरबिजोर प्रणालीअन्तर्गत साधन गुडाउन दिइएको भए पनि सार्वजनिक यातायात तत्काल सञ्चालन भएको छैन । सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवसायीले माग गरिरहेका छन् ।

बैशाख १६ बाट जारी निशेधाज्ञा अझ हटाइहाल्न नहुने विज्ञहरुको सुझावलाई मध्यनजर गर्दै असार १५ सम्म निषेधाज्ञा थप गर्ने, सार्वजनिक सवारी चल्न दिनेबारेलगायत विषयको मोडालिटी भोलि बस्ने बैठकले तय गर्ने पराजुलीले बताए ।