प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने निष्कर्ष निकालेको नेता प्रकाशशरण महतले बताए ।

नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई९उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले विपक्षि गठवन्धन बनाएका छन ।

विपक्षि गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि प्रस्ताव पेश गरेका थिए । तर राष्ट्रपतिले आधिकारिकता नपुगेको भन्दै यसलाई बदर गरेर संसद भंग गरेपछि विपक्षि गठबन्धन प्रतिनिधिसभा पुर्नस्थापना र देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि सर्वोच्च अदालत गएकोमा त्यो मुद्धा अहिले विचाराधीन छ।

देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो । साथै, १४६ सांसद हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका थिए ।

वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएको भन्दै विपक्षी ५ दलले विरोध गरिरहेका छन्।

यस्तै कांग्रेसको आज बसेको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुनेछ, भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महत्तले जानकारी दिए ।

त्यस्तै असार २० गतेसम्म सम्पूर्ण काम सक्न क्रियाशील सदस्य छानविन समितिलाई निर्देशन दिइएको उनले बताए । बैठकले दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्तावलाई पनि पारित गरेको छ ।