गएराती अबिरल बर्षाका कारण हेलम्बु, मेलम्ची क्षेत्रमा आउको भीषण बाढीले अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने कैयौ बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

मृत्यु र घाइते हुनेहरूको पहिचान खुलिसकेको छैन । बाढीले अन्य बजारसमेत डुबाएकाले अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको भए पनि पुष्टि भने भएको छैन । स्थानीय सरकार उद्धारमा जुटेका छन् ।

उद्धारका लागि हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभएकाे छ ।

बाढीले मेलम्ची बजार डुबानमा परेको छ । बाढीले मेलमची खानेपानीको क्याम बगाएको छ । मेलम्चीदेखि माथिको राजमार्ग खण्डहरु बगाएको छ । सो कारण सडक सम्बन्ध बिच्छेद भएको छ । बिद्युत आपूर्ति बन्द भएको छ । हेलम्बु गाउँपालिका किउलमा रहेको टाउट्र माछा र्फम बगाएको छ ।

हेलम्बु गाउँपालिकाको चनौटे बजार, किउल, तालामाराङ, ग्याल्थुम, तिपेनी हुदै मेलम्ची बजार डुबानमा परेका छन् । इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल बगाएको छ । स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । मेलम्ची माथिका सबै झोलंगे पुल बगाएका छन् ।

प्रहरी घटना स्थलमा पुगेको छ । जनधनको के कति क्षति भयो भन्ने बारे थप बिबरण केही समयपछि आउने जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले बताउनु भयो । नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र उद्धारटोली घटना स्थलमा पुगेको छ ।