सरकारले आजबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउने निर्णय भएको हो ।
मन्त्रालयका अनुसार नेपालभरका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाइने छ । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यसपटक खोपको दोस्रो मात्रा सुनिश्चित गरेर पहिलो मात्रा दिन लागेको हो । चीन सरकारले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा दिएको छ ।
भिड कम गर्न एक दिन एक उमेर समूहलाई खोप
काठमाडौं महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ। खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ।
६४ वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ। खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ। यदि यस प्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ।
महानगरपालिकाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो। सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ।
यसअघि कोभिडको संक्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ।
सरकारले कोभिडविरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ। यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो।
यसअघि यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो। जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब एक लाख नागरिक लाभान्वित भएका थिए।
-रासस








