माओवादी केन्द्रले प्रदेश नम्बर-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन् ।
सर्वोच्च अदालतले नेकपाबाट पूर्वनेकपा एमाले-माओवादीमा पूर्ववत् रुपमा फर्काएको ३ महिनापछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएर त्यसविरुद्ध सडकमा उत्रिएका थिए। पछि सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेर दुवैलाई पूर्ववत् रुपमा फर्काएको थियो ।
९२ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा एमालेसँग ५१, नेपाली कांग्रेसको २१ र माओवादी केन्द्रका १५ र जसपासँग ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा माओवादी केन्द्रले एकजनालाई पदबाट हटाएको छ ।








