सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।

चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ । विपक्षी दलहरूले सर्वोच्चमा बहुमत सांसदको उपस्थितिसहित दर्ता गरेको रिटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ ।

अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले बिहीबार संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो ।