प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट विरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिनु भएको छ ।

विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँग बालुवाटारमा विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तारमा काम गर्न निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न निर्देशन दिनु भयो । घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उहाँले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको वताउनुभयो ।

विरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘विरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘तत्काल उपलब्धता र सुलभताका लागि तपाईंहरू सबैको सक्रियता आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले मानवीय संकटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्टाचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाहरूको मनोबल गिर्नेतर्फ सचेत रहन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव संकटलाई राजनीतिकरण गर्न स्थायी रूपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्रमोर्चामा लडिरहेकालाई ह्यारेसमेन्ट गर्ने, कदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मानवीय रक्षाको लागि गरेका प्रयासहरूलाई विकृत रूपमा व्याख्या गर्ने पेसा नै भएकाहरूसँग सजग रहेर महामारीबाट जनतालाई बचाउनु पर्दछ ।’

विश्वव्यापी रूपमा आएको महामारी सबैको साझा समस्या भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका विरुद्ध मिलेर सामना गर्नु पर्ने बताउनुभयो । उहाँले राजनीतिक विपक्षीहरूले सरकारले कामै गरेन भनेर महामारीबाट लाभ लिने प्रयास गरेको पनि बताउनु भयो ।