नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेससहितका दलहरूको आज बैठक बस्ने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न विपक्षि दलहरुलाई आब्हान गरेसँगै देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताबीच सयुक्त बैठक बस्न लागेको बताइएको छ ।
बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको पनि सहभागिता हुन सक्ने बताइएको छ । तथापी यसबारे पुष्टि हुन सकेको छैन ।
प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत गुमाएपछि नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ । राष्ट्रपतिबाट पनि संविधानको धारा ७६ को उपधारा (२) बमोजिम एकभन्दा धेरै दलको बहुमतमा सरकार बनाउन तीन दिनभित्र दाबी गर्न भनिएको छ ।
कांग्रेससहितका तीन दलले तीन दिनभित्र बहुमत पु¥याउनुपर्ने चुनौती छ । सिङ्गो जसपाले कांग्रेससहितको गठबन्धनलाई साथ दियो भने मात्रै बहुमत पुग्छ । अन्यथा पुग्दैन ।
जसपाभित्र २ समूह छ । उपेन्द्र यादव कांग्रेससँग निकट छन् । महन्ठ ठाकुर प्रधानमन्त्री ओलीसँग निकट छन् ।
ठाकुरले नयाँ सरकार गठनमा सक्रिय हुने र नयाँ सरकारलाई साथ दिने कुरा पार्टीको उदेश्य विपरित र मधेश आन्दोलनको मर्म विपरित हुने बताएका छन् ।
अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ ।
कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १ सय ४१ सांसदसहित सरकार बन्न सक्छ । जसपाको ठाकुर पक्षले साथ नदिने भएपछि विपक्षि गठबन्धनको पनि बहुमत नपुग्ने देखिन्छ ।








