लुम्बिनी प्रदेशमा फेरि शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ ।

मुख्यमन्त्री पोखरेलले आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आजै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरिसक्नुभएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री शंकर पोखरेलले नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा वैशाख १९ गते स्वीकृत भएको उल्लेख छ ।

आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेलकै नेतृत्वमा फेरि नयाँ सरकार बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

उहाँले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिनुहुनेछ । “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीको विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भन्नुभयो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता भएको छ । त्यसमाथि छलफलका लागि आइतबारदेखि नै विशेष अधिवेशन प्रारम्भ हुँदैछ । दिउँसो १ बजे सुरु हुने बैठकअघि उहाँले राजीनामा दिनुभएको थियो ।

अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेका थिए । तर हस्ताक्षर गरेकामध्ये जनता समाजवादीका ३ सांसद भने मन्त्री बनिसकेका छन् ।

लुम्बिनीमा एमालेको पक्षमा ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बन्नु भएको थियो । पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् ।