कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन । उनले प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत प्राप्त गरेका हुन ।
विश्वासको मतका लागि भएको मतदानमा प्रदेशसभामा कायम रहेको ३९ सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका थिए ।
सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको सरकारको पक्षमा विश्वासका लागि आवश्यक बहुमत प्राप्त भएकोले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।
मुख्यमन्त्री शाहीलाई नेकपा माओवादी केन्द्रका १२ मत, कांग्रेसका ६ मत प्राप्त भएको थियो भने नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले पनि ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि उनको पक्षमा २२ मत पुगेको थियो ।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन १९ मतको आवश्यकता थियो । एमालेबाट प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको मत मुख्यमन्त्री शाहीलाई गएको थियो । राप्रपाको एक मत तटस्थ बसेको थियो ।








