विपक्षी दलहरुले आजै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको बेला गण्डकी प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गरिदिएको छ ।
काँग्रेस र माओवादी लगायतका विपक्षी दलहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि त्यसलाई छल्न प्रदेश सरकारले हतारमा मध्यराती बाटै लागू हुनेगरी प्रदेशसभा अधिवेशन अन्त्य गरेको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । यद्यपी विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ ।
मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई सघाउने निर्णय गरेपछि गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ ।
विपक्षी गठबन्धनले काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीकारुपमा अघि सार्दै गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागेको हो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् ।









