काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अब कोरोना संक्रमित बिरामीको मात्र भर्ना लिने भएको छ । दोस्रो चरणको कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले मंगलबार यस विषयमा निर्णय लिँदै अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो।
अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुासर कोरोना संक्रमितको व्यवस्थापन गर्न अन्य बिरामीलाई भर्ना नलिने निर्णय भएको छ । अन्य बिरामीलाई भर्ना गर्दा उनीहरूमा पनि संक्रमण सर्ने जोखिमका कारण कोरोना संक्रमितको मात्र उपचार गर्ने निर्णय गरिएको उनले बताए ।
कोरोनाबाहेकका सरुवा रोगका बिरामी भर्ना हुन आएमा उनीहरूलाई वीर र पाटन अस्पतालमा व्यवस्थापन गरिने पनि उनले बताएका छन् ।
पछिल्लो समय कोरोना संक्रमितको चाप बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै शुक्रराज अस्पताललाई कोरोना संक्रमितलाई मात्र भर्ना गरेर उपचार तथा व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनअनुसार अस्पतालले मंगलबारदेखि कोरोना संक्रमितलाई मात्र भर्ना लिएर उपचार सेवा दिने निर्णय गरेको हो।
हाल १८ जना कोरोना संक्रमितमध्ये ११ जना बिरामी आईसीयू तथा भेन्टिलेटरमा रहेको अस्पतालले जनाएको छ ।








