नेकपा माओवादीले सांसद पदबाट निलम्बित गरेका चार मन्त्रीहरुले पुनः मन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । सांसद पद गुमाएका चारै जनाले शुक्रबार पाँच बजे पुनः राष्ट्रपति विद्या देवी भण्डारीद्वारा शितलनिवासमा मन्त्री पदको शपथ लिने भएका हुन ।

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई माओवादीले सांसद पदबाट निलम्बन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

चार मन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि रहेका छन् । राष्ट्रिय सभा सदस्य भएकाले गृहमन्त्री बादललाई छुट्टै पत्र पठाई सांसदबाट हटाउने तयारी गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गृहमन्त्रीबाहेक चार मन्त्रीहरको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको छ ।

सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।