प्रहरी र तस्कर समूहबीच गोली हानाहान

news-details

कैलालीमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ । भजनी नगरपालिका–३ को मोरिया घाटस्थित मोहना नदी किनारमा प्रहरी र लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको हो । तीन ग्राम खैरो हेरोइनको तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीकोे विशेष टोली खटेको थियो ।

नेपाल–भारत सिमानामा पिल्लर नम्बर ७०७-३ नजिक लागुऔषध तस्करलाई नियन्त्रणमा लिन खोज्दा तस्करले प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो ।

‘त्यसपछि प्रहरीले जवाफी फायर खोलेको थियो’, उहाँले भन्नुभयो । ‘हाम्रोतर्फबाट तीन राउण्ड गोली चलेको छ ।’ दोहोरो गोली हानाहानमा प्रहरीतर्फ कुनै नोक्सान भएको छैन । तर, तस्करतर्फ एक जना घाइते भएको अपुष्ट खबर रहेको थापाले बताउनुभयो ।

चार-पाँच जनाको सङ्ख्यामा रहेका तस्करले घाइते व्यक्तिलाई पनि आफूसंगै लिएर भारततिरै भागेको जनाइएको छ । घटनास्थलबाट प्रहरीले एउटा नपड्काइएको गोलीसमेत बरामद गरेको छ । घटना सोमबार अपराह्न साढे पाँचतिर भएको हो ।

कैलालीको टीकापुर र भजनी क्षेत्र पछिल्लो समय लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको छ । यसैगरी, कञ्चनपुरमा पनि भारतबाट लागुऔषधको तस्करी हुँदै आएको छ । केही हप्ता अगाडिमात्रै कञ्चनपुरमा प्रहरीको कारबाहीमा परेर भारतको एक लागुऔषध तस्करको ज्यान गएको थियो ।

रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *