स्वामी कमलनयन आचार्यश्रीजि महाराज (मुक्तिनाथ बाबा) संखुवासभा चैनपुरमा अवस्थित ऐतिहाँसिक धार्मिक मन्दिर सिद्धकाली जाने हुनुभएको छ । ‘सिद्धकाली पर्यटन प्रबर्द्धन बिराट सभा’मा सरिक हुन मुक्तिनाथ बाबा अगामी बैशाख १६ गते जाने हुनुभएको हो ।

चैनपुर चौतारी र चैनपुर नगरपालिकाको सहकार्यमा बैशाख १६ र १७ गते सिद्धकाली पर्यटन प्रबर्द्धन बिराट सभा हुने भएको हो । चैनपुर र सिद्धकाली क्षेत्रको प्रचारप्रसारका लागि ‘मुक्तिनाथ बाबा’को विशेष सहभागितामा सिद्धकाली पर्यटन प्रबर्द्धन बिराट सभा गर्न लागिएको चैनपुर चौतारीका अध्यक्ष तथा चैनपुर पर्यटन विज्ञ समूहका संयोजक निराकार श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालका बरिष्ठ तथा प्रख्यात स्वामी ‘मुक्तिनाथ बाबा’ पहिलो पटक चैनपुर जान लाग्नु भएको हो । ‘मुक्तिनाथ बाबा’लाई चैनपुर सिद्धकाली भ्रमणका लागि चैनपुर चौतारी र चैनपुर नगरपालिकाले निमन्त्रणा गर्दा उहाँले स्वीकार गरेपछि बिराट सभाको तयारी शुरु भइसकेको जनाइएको छ ।

‘बाबालाई चैनपुर सिद्धकाली पहिलो पटक हार्दिक अनुरोध गरेर लैजादैछौ, उहाँको उपस्थितिले चैनपुर सिद्धकालीलाई विश्वभर चिनाउन र प्रचारप्रसारका लागि सघाउ पुग्नेछ’ श्रेष्ठले भन्नुभयो ।

धार्मिक पर्यटन प्रबर्द्धनमा चैनपुरको सिद्धकाली जाँदै ‘मुक्तिनाथ बाबा’

चैनपुर नगरपालिकाले मुक्तिनाथ बाबाको स्वागतार्थ तथा ‘सिद्धकाली पर्यटन प्रबर्द्धन बिराट सभा’मा संवोधन हुने तथा आर्शिवाद ग्रहणका लागि सम्पूर्ण जिल्ला तथा नगरवासीलाई हार्दिक निमन्त्रणा गरेको छ ।

स्वामी मुक्तिनाथ बाबाको प्रख्याति नेपालमा धेरै छ । राजनैतिक नेतादेखि उच्च सरकारी व्यक्ति तथा सर्बसाधारण उहाँको दर्शन र आर्शिवादका लागि भीड लाग्ने गर्दछ । नेपालका देवस्थल, तीर्थस्थलको प्रचारप्रसार र संरक्षण गरिरहनु भएका मुक्तिनाथ बाबाले नेपालको शिक्षा, स्वास्थ्य तथा अन्य धेरै समाजिक कार्यमा महत्वपूर्ण योगदान दिइरहनु भएको छ ।