नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा नेकपा एमालेका क्रियाशिल नेता बलबहादुर तामाङ नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तामाङसहितका एमाले कार्यक्रताहरुलाई सभापति देउवाले टीका, खादा तथा सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन ।

यसअघि नेकपा एमालेको उद्योग तथा बाणिज्य विभागको सदस्य तथा व्यवसायीहरुको जनवर्गीय संगठन नेपाल उद्योग व्यवसायी महासंघको सचिव रहेका तामाङ एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको प्रदेश १ को अध्यक्ष रहेका थिए ।

उनी ताप्लेजुङ जिल्लाका सक्रिय एमाले नेताका रुपमा परिचित तामाङको मेनपावर व्यवसायका अलावा हाइड्रोपावर, मेडिकल, ट्राभल एजेन्सीलगायतका क्षेत्रमा लगानी रहेको छ । उनी सफल व्यवसायी पनि हुन् ।

२०४३ सालदेखि नै एमालेमा संगठित सदस्यमा प्रवेश गरेका तामाङ एमालेमा राम्रो पक्कड जमाएका नेता थिए । उनको काँग्रेसमा प्रवेशसँगै एमालेबृत तथा व्यवसायीहरुमा तरङ्ग पैदा भएको छ ।
पछिल्लो समय सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएपछि एमालेबाट जिम्मेवारीविहिन बनाइएका तामाङले केहि समयअघि मात्र नेकपा एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

राजनैतिक, बौद्धिक र व्यवसायीक क्षेत्रमा इमान्दार नेताकारुपमा परिचित तामाङलाई कांग्रेसले उचित जिम्मेवारी दिने बुझिएको छ ।