नेकपा एमाले माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्ट रहँदै आएको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेका लागि तय गरिएको हो ।
अध्यक्ष ओलीले नेपाल पक्षलाई स्पष्टीकरण सोधेपछि त्यसको जवाफी पत्रमा माधव नेपाल पक्षले पनि ओलीलाई स्पष्टीकरण नै सोधेको छ । यस अवस्थामा पार्टी विभाजनको मोडमा पुगेको विश्लेषण भइरहँदा नेपाल पक्षले आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको बुझिन्छ ।
उता आजै अध्यक्ष ओली एमाले संसदीय दलको बैठक बोलाएका छन् । सो बैठक बस्नुअघि नै नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने नेपाल पक्षका नेताले जानकारी दिएका छन् ।
एमाले संसदीय दलको बैठक आजै दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको छ । उक्त बैठकमा आफुहरु पनि सहभागी हुने वा नहुनेबारे नेपाल पक्षले केन्द्रीय बैठकमार्फत निर्णय गर्ने जनाइएको छ ।








