सभामुख, मन्त्री तथा सांसदहरुलाई आज कोरोना विरुद्धको खोप लगाइदै छ ।
बुधबार बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म सिभिल अस्पताल नयाँ बानेश्वरमा सभामुख, मन्त्री तथा सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रले जानकारी दिएको छ ।
यस्तै संघीय संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने तय भएको छ ।
यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।
विघटित प्रतिनिधिसभा पुनस्स्थापना भएको सर्वोच्च अदालतले निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको छ ।
त्यसअघि सबैले कोरोना विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने व्यवस्था सचिवालयले गरेको छ । सो अन्तर्गत बुधबारबाट खोप अभियान सुरु भएको हो ।









