राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाउनुभएको छ ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद आव्हानको राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई गत मंगलबार बदर गरेर १३ दिनभित्र संसद् बैठक आह्वानको परमादेश गरेपछि मन्त्रिपरिषद्को आजको बैठकले संसद् आह्वानको सिफारिस गरेको हो ।









