प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने र त्यो वार्ता सफल हुने बताउनुभएको छ ।

आइतबार झापाको कमल गाउँपालिका ६ झर्कामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले विप्लवसँग वार्ता हुने र त्यो वार्ता सकारात्मक हुने बताउनुभएको हो ।

‘तपाईंहरुले केही दिनमा नै टेलिभिजनको पर्दाबाट समस्या समाधान भएर खुशी साटासाट गरेको देख्न सक्नुहुनेछ’, ओलीले भन्नुभयो ।

दीगो शान्ति स्थापनाका लागि सरकार दृढ रहेको जनाउँदै केही समस्याहरु भएको भए त्यो पनि समाधान हुने  प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

यस्तै उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिनुभयो । आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो ।

औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो ।