नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट भएको मृतकको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्याले यसअघि भएको अपडेटमा ६१८ जना मृतक थपिएर नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २६८४ पुगेको जानकारी दिएको छ । यसअघि कोभिड १९ सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २०६६ जना रहेको मन्त्रालयको अपडेटमा थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपाली सेनाले शव ब्यवस्थापन गर्दा आएको तथ्याङ्क र मन्त्रालयको तथ्याङ्कबारे बिस्तृत अध्ययनपछि नेपालमा हाल दर्ता गरिएको मृतकको संख्याभन्दा ६१८ जना थपिएको जानकारी दिएका हुन ।

मन्त्रालयले यसअघि दुबै निकायबाट मृतकको फरक तथ्याङ्क आएपछि समिति गठन गरेको थियो । उक्त समितिले कोभिड १९ सम्बन्धी उच्च स्तरीय समितिमा आफ्नो प्रतिबेदन बुझाएको थियो । प्रतिबेदनको आधारमा मृतकको संख्या थपिएको प्रवक्ता गौतमले बताए ।

शव ब्यवस्थापनका लागि तयार गरिएको निर्देशिका बमोजिम नेपाली सेनाले शव ब्यवस्थापन गर्दा मृतकको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले अद्यावधिक गर्न सकेको थिएन । बिरामीको दाह संस्कारपछि मात्रै कोभिड पोजिटिभ भएको प्रतिवेदन आएको घटनाहरु समेत उक्त तथ्याङ्कमा जोडिएको प्रवक्ता गौतमको भनाई छ  ।