गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहआयोजनामा ३ दिने दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन प्रधामन्त्री केपी शर्मा ओलीले गरेका छन् । भर्चुअल (जुम) माध्यमबाट शुक्रबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि विदेशमा आर्जन गरेको ज्ञान, प्रविधि र सीपको हस्तान्तरण गर्न एनआरएनलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई बर्ष पहिला पनि पहिलो विज्ञ सम्मेलनलाई संवोधन गरेको बताउँदै दोश्रो विज्ञ सम्मेलनले नेपालको विकासमा थप टेवा पु¥याउन बहुआयामिक भएर छलफल गरी निचोडमा पुग्न अनुरोध गरे । प्रधानमन्त्री ओलीले भने–‘आफुले सिकेको ज्ञान, प्रविधी र पूँजी नेपालमा लगानी गर्न आतुर तपाईहरु हुनुहुन्छ, त्यसका लागि नेपाल सरकार जस्तोसुकै वातावरण बनाउन र सहकार्य गर्न तयार छ ।’

कोभिडको सन्दर्भमा नेपालको आयुर्वेधिक औषधीको प्रयोगलाई अगाडि बढाउन र यस विषयमा खोज, अनुसन्धान तथा छलफल चलाउन प्रधानमन्त्रीले एनआरएनलाई आग्रह गरे । उनले भने–‘हाम्रा जडीबुटीहरुको प्रयोगका बारेमा धेरैभन्दा धरै जानकारी पुग्न सकेको छैन, तपाईहरु अध्ययन अनुसन्धान गर्नुहोस् ।’

उनले नेपाली भान्साको परम्परालाई कायम राख्न सके रोगसँग लड्ने सक्षता विकास हुनेसमेत बताए ।

कोभिड १९ को महामारीमा जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै केही समयभित्र नै कोभिडलाई नियन्त्रणमा लिने प्रयासमा सरकार रहेको प्रतिवद्धता जनाए ।

एनआरएनलाई नेपालको विकासका लागि ज्ञान, प्रविधि र सीपको हस्तान्तरण गर्न प्रधानमन्त्रीको आग्रह

नेपाली जनता भोक र रोगले ज्यान गुमाउन नपरोस भनेर सरकार लागिरहेको प्रधानमन्त्रीको भनाई छ ।

सम्मेलनको उद्घाटन सत्रमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा सहित विभिन्न देशमा रहेका नेपाली राजदूतहरुको सहभागिता रहेको थियो ।

२५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनका संयोजक तथा गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले जानकारी दिए ।
सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् ।

संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाले प्राथमिकता दिएका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका विषयमा कार्यपत्रहरु प्रस्तुत हुने छन् ।

एनआरएनलाई नेपालको विकासका लागि ज्ञान, प्रविधि र सीपको हस्तान्तरण गर्न प्रधानमन्त्रीको आग्रह

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानका विषयमा कार्यपत्र प्रस्तुत हुने छन् ।

सम्मेलनमा परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको छ ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले सो सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलन पश्चात गैरआवासीय नेपाली संघले एक श्वेतपत्र जारी गरी नेपाल सरकार समक्ष पेश गर्ने जनाइएको छ ।