परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले डा गोविन्द केसीलाई अनसन फिर्ता लिई कोरोनाविरुद्धको साझा लडाईंमा सक्रिय हुन आग्रह गरेका छन ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नेक्रममा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आग्रह गरेका हुन ।
डा केसीले उठाएका अधिकांश माग सम्बोधन भएर कार्यान्वयनमा गइसकेकाले अब अनसन र हड्तालको कुनै आवश्यकता नभएको बताउदै मन्त्री ज्ञवालीले अहिले देश संकट र असामान्य अवस्थामा रहेकाले अनसन फिर्ता लिई कोभिड १९ विरुद्धको साझा लडाईंमा सहभागी हुन आग्रह गरेका हुन ।
डा केसीले उठाएको माग अनुसार सात वटै प्रदेशमा मेडिकल कलेजको स्थापना भई कार्यान्वयनको चरणमा रहेको, चिकित्सा शिक्षा सम्बन्धी ऐन निर्माण भएको, उच्चस्तरीय आयोग गठन भई कार्यान्वयनको चरणमा रहेको, त्यसको नियमावली समेत बनिसकेको र ७५ प्रतिशत छात्रबृत्तिको माग पनि कार्यान्वयनमा गैसकेको मन्त्री ज्ञवालीले बताए ।
अन्य विषयमा पनि सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको पनि उनले बताए । पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाई हालसम्म १० लाख बढीको परीक्षण भइसकेकाले केभिडको महामारीको अवस्थामा पुरा भइसकेका विषयलाई माग बनाएर दावाव नदिन मन्त्री ज्ञवालीले आग्रह गरे ।








