नजिकिदै गरेको नेपालीहरुको चाडपर्व दशैँ, तिहार र छठलगायतलाई लक्षित गरेर सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै छ ।
चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेकोमा यो वर्ष पनि यस्ता पसल संचालनमा ल्याएको हो ।
यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत पनि सामान खरिद गर्नसक्ने व्यवस्था गरेको जनाएको छ ।
काठमाडौँ उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने जनाइएको छ ।
उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।
काठमाडौँ उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।
सहुलियत पसलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी)ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुटसहित तथा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ, चिनीमा प्रतिकेजी पाँच रुपियाँ, च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकेजी रु १० छुट दिइने मन्त्रालयले जनाएको छ ।








