भक्तपुर हत्याकाण्ड : श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरेको आशंका

news-details

भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका-९ निकोसेरास्थित एक घरमा एकै परिवारका तीन जनाको शव फेला परेकोको छ ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको शव फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमती र छोराको हत्या गरेर अधिकारीले आत्महत्या गरेको आशंका गरिएको भएपनि घटना रहस्यमयपूर्ण भएको भन्दै प्रहरीले अनुसन्धान थालेको जानकारी दिएको छ ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । दोस्रो तलाको भर्‍याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको बताइएको छ ।

हिजो अपरान्ह मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए । मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिइन ।

तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताइन । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले राति साढे ८ बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।

महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले घरका तीन जनाको शङ्कास्पद मृत्यु भएको पाइएको जानकारी दिए । उनका अनुसार कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएन । अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न सकिँदैन ।

प्रहरीका अनुसार एक वर्ष पहिले सुदिपले औषधि पसलमा काम गर्ने गरेका थिए । पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गरेको आफन्तहरुले बताएका छन् । छोरासँग पनि उनको झगडा पर्ने गरेको छिमेकीहरुले बयान दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *