काठमाडौ उपत्यकामा चल्न थाले सार्वजनिक यातायात, असोज १ देखि लामो दूरीका पनि चल्ने

news-details

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाइएसँगै आज बिहीबारदेखि उपत्यकामा सार्वजनिक यातायात पनि चल्न थालेका छन् ।

हिजो बधुबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवालाको छलफलपछि जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जोरबिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउने निर्णय गरेकाले आजदेखि सोही प्रणालीबमोजिम उपत्यकामा सार्वजनिक यातायात चलेका हुन् ।

बुधबार गरिएको निर्णयअनुसार निजी र सार्वजनिक सबै प्रकारका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुने छ । जोरबिजोर प्रणालीअनुसार आज बिजोर गते भएकाले उपत्यकामा बिजोर नम्बरका गाडीहरु सञ्चालन भइरहेका छन् ।

यद्यपि सडकमा निस्किएका सबै प्रकारकार सवारीसाधनले स्वास्थ्य सुरक्षामा मापदण्डहरु भने अनिवार्य पालना गरेको हुनुपर्ने छ । नियम पालना नगरी गाडी चलाउनेलाई होल्ड गरी बेलुका मात्रै छोड्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

त्यसका लागि बिहानैदेखि ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गरिरहेका महाशाखाले बताएको छ ।

जोरबिजोर प्रणालीमा गाडी चलाउन पाइने भए पनि सार्वजनिक गाडी भने १६ सिट क्षमताभन्दा माथिका मात्रै चलाउन पाइने छ । यस्तै यस्ता गाडीमा एक सिट छोडेर यात्रु राख्नु पर्ने छ भने गाडी चलाउँदा र चढ्दा अनिवार्य मास्क लगाउनुपर्छ ।

असोज १ गतेदेखि लामो दूरीका पनि चलाइने 

यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधान पनि सञ्चालन गर्ने भएका छन् ।

व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने जानकारी दिएका छन् ।

सरकारले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने भनेको छ तर, व्यवसायी भने सरकारले फेरि समय सार्नसक्ने सम्भावना रहेको भन्दै बुधबार विभागलाई जानकारी गराएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

असोज १ गतेदेखि सुरक्षा सावधानी अपनाएर आफूहरूले गाडी चलाउने र सरकारले रोक लगाए गाडी सरकारलाई नै बुझाउने व्यवसायीको तयारी रहेको सिटौलाले बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *