चितवनमा जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको हिजो मृत्यु भएको छ ।
चितवनका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो ।
बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो । त्यस्तै भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो । दिउँसो साढे २ बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताउनुभयो ।
भरतपुर–११ कै अर्का एक १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृत्यु भएको हो ।
यस्तै चितवनमै थप १ जनाको उपचारका क्रममा निधन भएको छ । हेटौडाका ५८ वर्षीय पुरुषको सोमबार बेलुका निधन भएको अस्पतालले जनाएको छ । उनमा हिजै मात्र संक्रमण पुष्टि भएको थियो ।
यता वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको मंगलबार विहान ४ः५० बजे र भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत पहिचान नखुलेका अर्का कोरोना संक्रमण पुष्टि भएका पुरुषको सोमबार बेलुका ८ः४५ मा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिएका छन ।
यस्तै वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति १२स्४५ मा मृत्यु भएको पनि चौरसियाले बताए ।
यस्तै सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित एक पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । एक साताअघि अस्पतालमा भर्ना भएका ६५ वर्षका पुरुषको सोमबार राति ९ बजेतिर मृत्यु भएको हो । आइसियूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौमा पूर्वन्यायाधीश चालिसेको निधन
यस्तै पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए । चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको काठमाडौं महानगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए ।
उनी गत भाद्र ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको केसीको भनाइ छ । उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए ।








