कोभिड १९ संक्रमितको संख्या बढ्दै गएसँगै देशभर रगतको अभाव हुन थाले पछि जनस्वास्थ्यको मापदण्ड पालना गरेर रक्तदान गर्न गराउन सम्बन्धित पक्षसँग सरकारले अनुरोध गरेको छ ।

सरकारले अनुरोध गरेसँगै बिभिन्न संघ संस्थाको समन्वयमा रक्तदान अभियान सुरु भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको गरेपछि आज काठमाडौंको घट्टेकुलोमा रक्तदान कार्यक्रम आयोजना भएको थियो । त्रिवेणी युवा कल्वको आयोजनामा भएको रक्तदानमा करिव ९० जनाले रक्तदान गरेका छन् ।

यसअघि शुक्रबार नेपाल वैदेशिक रोजगार एकता समिति सामाखुसीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जना दाताले रक्तदान गरेका थिए । त्यसैगरी लायन्स कल्व अफ ब्लड सर्कल काठमाडौंले पनि बसन्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेर रगत अभावलाई केहि भएपनि कम गर्न सहयोग गरेको थियो ।

लायन्स कल्व अफ ब्लड सर्कल काठमाडौंले जो सुकैले खवर गरेको अवस्थामा घरघरमा नै पुगेर रक्त सङकलन गर्ने गरेको र अभियानकै रुपमा ठाउँ ठाउँमा पुगेर रक्त सङकलन गर्दै आएको जनाएको छ ।

यसैबीच ब्लड डोनेशन एसोसीयसन काठमाडौं जिल्लाका सचिव अनिल तुलाधरले देशमा ब्लड अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर मापदण्ड पालना सहित रक्तदान आयोजना गरिएको जानकारी दिए ।

सामान्य स्वास्थ्य अवस्था रहेका मानिसले हरेक ३ महिनामा रक्तदान गर्न सक्छन् । रक्तदान जिवनदान भन्ने मान्यता मात्रै रहेको छैन रक्तदानका कारण कयौ मानिसको जिवन बचाउन सकिने चिकित्सकहरुको भनाई छ ।

आम मानिस कोभिड-१९ संक्रमणको महामारी संग जुधिरहेको समयमा स्वस्थ्य मानिसको रगतबाट सुत्केरी, क्यान्सर र मृगौला लगायतका विरामीको ज्यान वचाउन सकिन्छ । कोभिड १९ संक्रमण मुक्त भएका मानिसको रक्तदानबाट प्लाज्मा दिएर पनि संक्रमण मुक्त गर्न सहयोग पुगिरहेको छ ।