मंगलबार साझ यता मात्र कोरोना संक्रमणका कारण थप ८ को निधन भएको छ । यसरी निधन हुनेहरुमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कैलालीका एक पुरुष, बाँकेको कोहलपुर मेडिकल कलेजमा नेपालगंजका एक पुरुष, धुलिखेल अस्पतालमा भक्तपुरका एक पुरुष,  ललितपुरको पाटन अस्पतालमा काठमाडौका एक पुरुष र  विराट मेडिकल कलेजमा विराटनगरकी एक महिला, न्यूरो अस्पताल विराटनगरमा एक पुरुष र पर्साको नारायणी अस्पतालमा बाराका दुई पुरुष रहेका छन ।

कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का कोरोना संक्रमित ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

यता बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेकै अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यता धुलिखेल अस्पतालमा कोरोनाको उपचार गराइरहेका भक्तपुर सुर्यविनायक ८ का ५५ बर्षीय कोरोना संक्रमितको मंगलबार राति निधन भएको छ । मंगलबार राति ११:५५ बजे कोरोना संक्रमित ती ब्यक्तिको उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाले जानकारी दिएका छन । तीन दिन अघि अस्पतालमा भर्ना भएका उनलाई परिक्षणको क्रममा कोरोना देखिएको थियो । कोरोनासँगै मुटु र थाइराइडको उपचार गराइरहेको अवस्थामा उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

यस्तै ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको पनि गएराति साढे ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यस्तै मंगलबार दिउँसो विराट मेडिकल कलेजमा भर्ना भएकी बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिएका छन । संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी न्यूरो अस्पतालमा साउन ३१ गते भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राती ११ बजेतिर मृत्यु भएको हो । अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतका अनुसार टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररतः रहेकै बखत भदौ ३ गते स्वाब संकलन गरिएकोमा भदौ ७ गते रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो ।

यस्तै बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर–१ छतवा टोल बस्ने ४२ वर्ष पुरुष तथा अर्को कलैया उपमहानगरपालिका वडा नम्बर–१ बस्ने ७० बर्षे पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो । उनीहरु किड्नी र श्वासप्रश्वास, ज्वरो, रक्तचाप, थाईराईडको समस्याबाट ग्रस्ति रहेकाले मंगलबार दिउँसो पीसीआर रिर्पोट पोजिटिभ आएपछि पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक तथा गण्डक स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मंगलवार राती ८ बजे र अर्का एकको पौने ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।