कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा थप १ हप्ता लम्व्याउने तयारी भएको छ । यसअघि गत भदौ ३ गते रातिबाट लागू भएको निषेधाज्ञा भोलि राति १२ बजे सकिदै छ ।

आज बस्ने उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आवश्यकताका आधारमा निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गर्ने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

उनले एक हप्ताको निषेधाज्ञाको प्रभावकारीताका समीक्षा गर्ने, अझै कडा बनाएर निषेधाज्ञा लागू गर्नेबारेका सुझावहरु अध्ययन गर्ने र तीनवटै जिल्लाको विपद् व्यवस्थापन केन्द्र डीसीसीएमसीको सुझावका आधारमा अघि बढ्ने तयारी भएको बताए ।

यसअघि हिजो बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको उपत्यका नगरपालिका फोरमको बैठकले भदौ १५ गतेसम्म आफ्नो सबै सेवा बन्द गर्ने र उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञा भित्रै गर्ने निर्णय गरेको मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले उपत्यकामा सङ्क्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको पहिचान भएको र निषेधाज्ञाको अवधिभित्रै उनीहरुको पीसीआर परीक्षण गर्ने योजना फोरमले बनाएको जानकारी दिदै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह गरेको बताए ।

महामारीको समयमा कोरोना सङ्क्रमितको उपचार गर्नु स्थानीय सरकारकोे दायित्वभित्रै पर्ने भएकाले उपत्यकाका नगरपालिका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षणमा उच्च प्राथमिकता दिन लागिएको फोरमले जनाएको छ ।

हाल काठमाडौं उपत्यकामा दैनिक २ सयको हाराहारीमा संक्रमित थपिइरहेका छन् ।