अछामको रामारोशन ३ को कैलाश खोलामा आएको बाढीले बस्ती बगाउदा ६ जनाको मृत शव भेटिएको छ भने १९ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् ।

मध्यराती सैनीबजारको बस्तीमा कैलाश खोला पस्दा ठूलो जनधनको क्षति हुनुका साथै अहिलेसम्म ६ जनाको शव भेटिएको तथा १९ जना सम्पर्कमा नरहेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले जानकारी दिए ।

घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताए । सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको बताइको छ ।