पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका २०५ सहित देशभर अहिलेसम्मकै बढी १०१६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकामा पनि अहिलेसम्मै सबैभन्दा बढी २०५ जना संक्रमित भेटिएका हुन । उपत्यकामा काठमाडौका १३८, भक्तपुरका १७ र ललितपुरका ५० जनामा संक्रमण भेटिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८५ जना डिस्चार्ज भएको र डिस्चार्ज हुनेको कुल संख्या पनि १७ हजार ५८० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण काभ्रे, नवलपराशी, मोरङ, धनुषा, बाके र कास्कीका १-१ पुरुष तथा तनहुकी १ महिला गरी ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या पनि ११४ पुगेको छ ।