नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा ल्याइएका गिरीको भेन्टिलेटरमा राखेर उपचार भैरहदा बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले पुष्टि गरे ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।