पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बेलुकीसम्म प्राप्त रिपोर्टअनुसार पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । मेयर रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो । सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो । साउनमा मात्र जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।