पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १३८ सहित देशभर ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २४ हजार ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका १०९, भक्तपुरका ८ र ललितपुरका २१ जना गरी कुल १३८ जना संक्रमित थपिएका मन्त्रालयले जनायो ।
यस्तै बुधबार थप ६४ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ । योसँगै निको हुनेको दर ६८.४ प्रतिशत पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण काठमाडौकी १ बृद्धाको र वाराका एक पुरुषको किस्ट अस्पतालमा, धादिङका एक पुरुषको ह्याम्स अस्पतालमा, धनुषाकी एक महिलाको मेडिसिटी अस्पतालमा, धनुषाकै अर्की एक महिलाको पाटन अस्पतालमा, मोरङका एक पुरुषको धरान अस्पतालमा, कपिलबस्तुका एक पुरुषको बुटवल बुटवल कोरोना अस्पतालमा र सप्तरीका १ पुरुषको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाका कारण निधन हुनेको कुल संख्या पनि ९१ पुगेको छ ।








