कोरोनाको औषधी नबन्‍न पनि सक्छ, हात धुन नछाडौं : डब्ल्यूएचओ

news-details

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड-१९) भाइरस निर्मुल पार्ने औषधी तत्कालै बन्ने सम्भावना नरहेकाले हात धुने र मास्क लगाउनेजस्ता स्वास्थ्य सजगता जारी राख्न आग्रह गरेको छ ।

डब्ल्युएओका प्रमुख डा टेड्रोस अधानोमले कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्ने आशा रहेको, तर तत्कालका लागि यसको अचुक औषधी नरहेको बताएका हुन् ‌। अहिलेकै अवस्था हेर्दा कोरोनालाई पूर्ण रुपमा जित्नसक्ने औषधी कहिल्यै नबन्न पनि सक्ने उनको भनाई छ ।

कोरोना महामारी नियन्त्रणमा गम्भीरतापूर्वक लाग्ने भन्दा पनि अनुमान र हचुवा निर्णय गरेको भनेर आलोचना खेपिरहेका डा अधानोमले यसअघि पनि कैयौं पटक कोरोना भाइरस संसारबाट कहिल्यै निर्मुल नहुने सम्भावना रहेको बताएका थिए ।

टेड्रोसले भनेका छन्, ‘केही खोपहरु तेस्रो चरणको परीक्षणमा छन्, यी मध्ये कुनै एक खोप मानिसलाई संक्रमणबाट बचाउन उपयोगी साबित भैदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो, तर अहिलेसम्म कोरोनाबाट बच्ने कुनै अचुक औषधी भेटिएको छैन, यस्तो अवस्थामा हामीले परीक्षण, एकान्तबास र मास्क प्रयोगलगायतका काम जारी राख्नुपर्छ ।’

मौसम बदलिँदैमा कोरोना भाइरस फैलावटमा कुनै असर नपर्ने र यो मौसमी फ्लु नभएको बताएका अधोनमको दावी पुष्टि पनि भइसकेको छ । यसबीचमा विश्वभर नै मौसम बदलिएपनि महामारी फैलावटमा यसको यसको कुनै असर देखिएको छैन ।

खोप या औषधीको टुंगो नलागेपछि डब्लूएचओले विश्वभरका मानिसहरुलाई संक्रमणबाट बच्न भौतिक दुरी कायम गर्न र राम्रोसँग हात धुन सुझाएको छ । साथै, खुला स्थानमा हिँड्दा र समूहमा बस्दा मास्क लगाउन पनि आग्रह गरेको छ ।

गत डिसेम्बरताका चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिलेसम्म विश्वका एक करोड ८१ लाख मानिसमा संक्रमण भइसकेको छ। ६ लाख ८९ हजार संक्रमितले ज्यान गुमाएका छन् । विश्वभर रहेका मानिसहरुमध्ये निकै थोरैमा मात्र संक्रमण भएरनभएको परीक्षण गरिएको यो संख्या अझै धेरै हुनसक्ने स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *