आज उपत्यकामा गाईजात्रा पर्व मनाइँदै

news-details

सरोज आचार्य । भाद्र कृष्ण प्रतिपदाका दिन मङ्गलबार नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ । कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होशियारीपूर्वक मनाउनुपर्ने भएको छ । भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ ।

सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ । सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइने छ । विगतमा बालकको सहभागिता अधिक हुने गरे पनि यस वर्ष बालकलाई सहभागी गराउन समस्या भएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले आफ्नै टोल छरछिमेकमा पर्व मनाउँदै संस्कृति संरक्षण गर्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले होशियारीपूर्वक पर्व मनाउन आग्रह गरिएको बताउनुभयो । हनुमानढोका दरबार छेउको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाहीले पनि दरबार आसपास सधैँजसो यो जात्रामा भीडभाड नहोस् भनेर क्लबले सजगता अपनाएको बताउनुभएको छ ।

भक्तपुरमा प्रतियोगितात्मक रूपमा हुँदै आएको यो जात्रा सामान्य साङ्केतिक रूपमा मात्र मनाइने भएको गलसीपुखुस्थित महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याले जानकारी दिनुभयो । काठमाडौँमा पनि ज्यापूू महागुठी र पाटनमा ज्यापूू समाजले पनि साङ्केतिक रूपमा मात्र जात्रा मनाउन आग्रह गरेका छन् ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ । जात्रा परिक्रमा गर्दा गराउँदा मल्लको तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने चलन छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *