दिपकप्रसाद गौतम । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौँ आएका सरावगीको त्यहीँ स्वाब सङ्कलन गरेर परीक्षण गर्दा परीक्षण रिपोर्ट पोजिटिभ आएको वीरगञ्ज महानगरपालिका उपप्रमुख शान्ति कार्कीले बताइन । उनले आफूले मेयरसँग फोनमा कुरा गरेको र उहाँ अहिले काठमाडौँमा उपचार जारी रहेको बताएको जानकारी दिइन ।

मेयर सरावगीले पनि आफ्नो फेसबुकमा लेखेका छन- ‘तपाईंहरूको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयम् कोरोनाको सङ्क्रमणको चपेटामा परेको छु । काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणलाई जितेर पुनः नगरवासीको सेवामा फर्किनेछु’  ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आधिकारिक रुपमा मेयर सरावगीलाई कोरोना सङ्क्रमण भएको खबर आफूकहाँ नआएको बताए ।

नारायणी अस्पतालका चिकित्सक डा। निरजकुमार सिंहले मेयर सरावगीले नारायणी अस्पतालको ल्याबमा परीक्षण नगराएकाले काठमाडौँमा गराउनुभएकाले आफूहरूलाई थाहा नभएको बताए ।