राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी फ्याँकेर भागेको घटना थप रहस्यमय बन्दै गएको छ छ ।
मङ्गलबार सवारी जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा बा ६ च ५५१९ नं को स्कारपियो गाडी बाटामै हातहतियार र सुनचाँदी रहेको कपडाको झोला फ्याँकेर भागेको र प्रहरीले पिछा गरे पनि गाडी कता गयो भनेर पत्ता लगाउन नसकेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएको थियो ।
तर अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेपछि यो घटना थप रहस्यमय बनेको छ । घटनामा संलग्न रहेको आशंकामा र्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट ३ जना देवान पटेल, विजय पटेल र निलेश सखिया पक्राउ गरिएको र अझै केही व्यक्तिलाई नियन्त्रणमा लिन बाँकी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
घटना अनुसन्धानकै घेरामा रहेकाले अहिले नै घटना यसकारण भएको हो भनेर भन्न नसकिने कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुएका छन । उनले छानबिन समिति गठन गरिएकाले समितिको प्रतिवेदन आएपछि यकिन भन्न सकिने बताए । गाडीको भने पहिचान खुलीसकेको पोखरेलले बताए ।
उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका आठ थान, २५० ग्राम लेखिएका २६ थान र ५०० ग्राम लेखिएको एक थान धातु प्रहरीले बरामद गरेको थियो । उक्त धातु धेरै चाँदी र केही सुन रहेको जनाइएको छ ।
महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उक्त घटनामा प्रहरीको पनि संलग्नताको आशङ्कामा त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको छ । उक्त घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।
दोस्रो दिनमै त्यस समितिको संयोजक परिवर्तन गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवलाई जिल्मेवारी दिइएको छ ।








