कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जना र मोरङका १ जनाको धरान अस्पतालमा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

बुधबार नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष गण्डक अस्पतालमा ६८ वर्षीय पुरुषको र नेशनल मेडिकल कलेजमा ७१ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिएका छन । दुबै जना वीरगन्जका स्थानीय नै हुन् ।

मुटु र निमोनियाका बिरामी रहेका वीरगञ्ज ५ रेशमकोठी निवासी ६८ बर्षिया बृद्धको एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड विशेष अस्पतालमा भर्ना गरिएको र बुधबार विहान उपचारकै क्रममा निधन भएको गण्डक अस्थायी कोभिड विशेष अस्पतालका कोर्डिनेटर डा उदयनारायण सिंहले पुष्टि गरेका छन ।

यता नेशनल मेडिकल कलेजमा उपचारार्थ अवस्थामा मृत्यु भएका ७१ वर्षीय पुरुषको साउन ११ गते पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । झाडापखालाको समस्याबाट ग्रसित उनी विभिन्न अस्पतालल हुदै नेशनल अस्पताल ल्याइएको र उनमा मृगौलाको समस्या देखिएपछि बुधबार दिउसो उपचारार्थ अवस्थामै निधन भएको अस्पतालले जानकारी दिएको छ ।

यस्तै विराटनगरबाट रेफर गरिएका मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन ।

ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।